दफा ५२
निकायहरुका सम्बन्धमा लाग्‌ हुने करका सिद्धान्तहरु
(१) कुनै निकाय कर दाखिला गर्ने प्रयोजनको लागि त्यसको हिताधिकारीभन्दा छुट्टै रुपमा जिम्मेवार हुनेछ ।

(२) निकायबाट हुने वितरण दफा ५३ मा उल्लेख भए बमोजिम हुनेछ र त्यसरी हुने वितरणमा दफा ५४ बमोजिम यसका हिताधिकारीलाई कर लगाइनेछ ।

(३) निकायबाट प्राप्त गरिएको रकम र ब्यहोरिएको खर्च रकम निकायले अन्य व्यक्तिको लागि प्राप्त गरेको वा नगरेको वा खर्च ब्यहोरेको वा नव्यहोरेको जे जस्तो भए पनि निकायले प्राप्त गरेको र ब्यहोरेको मानिनेछ ।

(४) निकायको स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई सोही निकायको स्वामित्व वा भारमा रहेको मानिनेछ । यस्तो स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई अन्य कुनै व्यक्तिको स्वामित्व वा भारमा रहेको मानिने छैन ।

(५) निकायको आयको लागि त्यसको व्यवस्थापक, हिताधिकारी वा निकाय जोसुकैले दाखिला गरेको बिदेशी आयकर सो निकायले दाखिला गरेको मानिनेछ ।

(६) कुनै निकाय र यसका व्यवस्थापक तथा हिताधिकारी बीचको कारोबारलाई परिच्छेद-७ र दफा ४५ को अधीनमा रही मान्यता दिइनेछ ।